दुई वर्षको उनको छोरा पनि आमाकै फोटोकपीजस्तो छ। 'एकै पटक पत्नी र छोरासाथ गाउँ पुग्दा धेरै छक्क परे,' काठमाडौंमा भेटिएका कान्छाले भने।
पहिलोपटक नेपाल आएकी दोराठीले भनिन्, 'बाटोमा हिँड्दा पनि मानिस मलाई नै हेरिरहेका हुन्छन्, अप्ठ्यारो लाग्दो रहेछ।'
सन् २००९ मा कामका लागि कान्छा नाइजेरिया पुगेका थिए। उनले काम गर्ने लेबनानी निर्माण कम्पनीमै काम गर्थिन दोराठी अजेका ओयोनो। कान्छालाई दोराठी मन पर्यो। उनले बिहेको प्रस्ताव राखिहाले। त्यसले दोराठीलाई धर्मसंकटमा पार्यो। स्वीकार्ने कि नस्विकार्ने। गोरो चटक्क परेको ह्यान्डसम केटा, तर न जात मिल्छ, न भाषा। कान्छासँग भेट्नुअघिसम्म उनलाई विश्वमा नेपाल भन्ने देश छ भन्ने थाहासमेत थिएन। 'माउन्ट एभरेस्ट विश्वकै अग्लो हिमाल हो भन्ने पढेको थिएँ, तर कुन देशमा पर्छ भनेर थाहा थिएन,' उनले भनिन्। उनले बीचको बाटो अपनाइन्। हुन्छ वा हुँदैन केही भनिनन्। त्यस विषयमै कुरा नै गरिनन्। 'छ महिनापछि उनले मेरो प्रेम प्रस्ताव स्वीकार गरिन्,' कान्छाले भने। कोर्ट म्यारिज गरे।
कान्छालाई त समस्या भएन। तर दोराठीकी आमाले आपत्ति जनाइन्। उनलाई जात न धर्मको आफूले सुन्दै नसुनेको देशको केटासँग छोरीको सम्बन्ध मन परेन। 'बुबा र दाजुभाइले भने आपत्ति गरेनन्,' दोराठीले भनिन्। नेपाल जस्तै नाइजेरिया पनि पुरुषप्रधान देश हो।
नेपालमा केटी पक्षले बिहेका लागि खर्च गर्नुपर्छ तर नाइजेरियामा भने त्यस्तो छैन। 'केटीतिरको मानिसलाई भोज खुवाउनुपर्छ,' कान्छाले भने, 'केटी पक्ष सक्षम छ भने केही थप्ने हो। नत्र केटा एक्लैले खर्च गर्नुपर्छ।'
बिहे भएको तीन वर्ष हुन लाग्यो, कान्छा अहिलेसम्म ससुराली गएका छैनन्। ससुराली नाइजेरियाको पूर्वी भागमा क्यामरुन छेउमा पर्ने रिभरक्रस राज्यमा पर्छ। त्यो ओयोनो समेतले चिनिन्छ। ओयोनो नदीले क्यामरुन र नाइजेरियालाई छुट्याएको छ। त्यस क्षेत्रमा बस्नै सबै ओयोनो लेख्छन्। आदो भाषा बोल्छन्।
कान्छा कसरी पुगे त लागोस्?
उनको वृत्तान्त कुनै फिल्मको कहानीभन्दा कम छैन।
...
कान्छा सन् २००३ मा दुबई पुगेका थिए। १९ वर्षका लक्का जवान। तलब थियो महिनाको ५ सय दिराम। काम निकै जोखिमपूर्ण। ठुल्ठूला भवन वा संरचनामा कामदारका लागि काम गर्ने स्थान बनाउने स्काफफोल्डिङ बनाउने।
'यहाँ भवन बनाउँदा बाहिर बाँसका राख्छन् नि, त्यस्तै, उता फलाम हुन्छ,' कान्छाले भने, 'हामीले बताएर ठीक छ भनेपछि मात्रै अन्य कामदार त्यसमा चढेर काम गर्छन्।'
काम गर्दैगर्दा उनलाई कसैले उकास्यो। 'अर्को कम्पनीमा बढी पाइन्छ, भागांै,' उनले सम्भि्कए, 'पैसा कामाउन गएको हो, बढी पाइन्छ भने किन नभाग्ने?' दुबई पुगेको सात महिनामै कम्पनीमा बन्धकी राखेको पासपोर्ट छाडेर भागे।