साउदी अरबको रियादमा रहेको ईष्टर्न पोलस्टार्न फैक्ट्रीमा कार्यरत ओखलढुंगा माम्खा १ का ४२ वर्षीय प्रकाश कार्कीको गत जनवरी १५ मा भारतीय चालकले चलाएको ट्रकको पछाडीको चक्काले किच्दा मृत्यु भएको हो । विहान ३ बजे लोडिंग भएको ट्रक पछाडी गुडाउँदा ब्रस गरिरहेका कार्कीलाई डालाले लागेर ढलेपछि चक्काले टाउको किचेको र उनको घटना स्थलमै मृत्यु भएको सोही कम्पनीमा कार्यरत अनिल खुलालले बताएका छन् ।
घटनामा संलग्न भारतीय चालकलाई प्रहरीले हिरासतमा लिएको र अनुसन्धान गरिरहेको छ । चालकका कारण घटना घटेको पुष्टि भए सरिया कानुन बमोजिम मृत्युदण्डको सजाय हुने वा ब्लडमनि लिएर परिवारले सजाय माफी दिन सक्नेछन् ।
साउदीमै कार्यरत माम्खा निवासी नवराज काफ्लेका अनुसार मृतक कार्की प्रति उनको परिवार आश्रित रहेको र परिवारमा आमा, श्रीमती र दुई छोरी छन् । आर्थिक अवस्था कमजोर रहेका मृतककी श्रीमती मिना कार्कीले कानुनी कार्वाही र उचित राहतका लागि पहल गरिदिन आग्रह गरेकी छिन् । नेपाली राजदुतावासले १५ जनवरीमाभएको घटना भएपनि ढिलो जानकारी प्राप्त गरेको जनाएको छ ।
घटनाका सम्बन्धमा कुनै जानकारी नदिएको कम्पनीले परिवार माफर्त सूचना प्राप्त भएपछि दुतावासले सो कम्पनीमा सोधपुछ गर्दा मालिक सम्पर्कमा आएका थिए । श्रमसहचारी कृष्णप्रसाद दवाडीले दुतावासको सम्पर्कमा आएका कम्पनी मालिकले प्रहरीको अनुसन्धान रिपोर्ट आएपछि मृतकको लासलाई नेपाल पठाउन मन्जुर गरेको बताएका छन् ।