असार १ गते घरबाट भागेर दुवैजनाले प्रेम विवाह गरेपछि बुधबार बिहान गाउँमै पञ्चायती (सर्वपक्षीय छलफल) भएको थियो । पञ्चायतीमा सहभागी गाउँका मुखीया र अगुवाले माथिल्लो जातको केटीसँग बिहे गरेको भन्दै अर्जुनका बुबालाई जुत्ताको माला लगाएर गाउँ परिक्रमा गराउने निर्णय गरे । पञ्चायतीको निर्णयअनुसार गाउँका मुखियाद्वय शिवशंकर पटेल र ब्रम्हदेव पटेलले केटाका बुबा शिवपुजनलाई जुत्ताको माला लगाई दिन गाउँका चौकीदार सुरेन्द्र हजार पासवानलाई आदेश दिए । मुखियाको आदेशमा शिवपुजनको घाँटीमा चौकीदार पासवानले जुत्ताको माला लगाइदिए । त्यसपछि मुखियाको अगुवाइमै गाँउलेले शिवपुजनलाई गाउँको परिक्रमा गराएका थिए । जुत्ताको माला लगाएर गाउँ परिक्रममा गराउने क्रममा मुखयिा र गाउँका अगुवाले शिवपुजनलाई कुटपिट पनि गरेको उनका काहिँला छोरा नानकचन्द साह तेलीले बताए । भवानीपुर गाउँमा पटेल जातिको बाहुल्यता छ । तेली जातिको दुई तीन घरधुरी मात्र छन् । पटेल जातिका अगुवा र मुखियाले जुत्ताकै माला लगाएर दुव्र्यवहार गरे पनि गाउँमा पटेलको हालीमुहाली रहेका कारण पीडित शिवपुजनले डरले प्रहरीमा उजुरी दिन मानेका थिएनन् । तरउनका काइला छोरा नानकचन्दले प्रहीलाइ खबर गरेपछि वडा प्रहरी कार्यालय श्रीपुरले बुधबार बेलुकी मुखियाहरू शीवशंकर, ब्रम्हदेव र चौकीदार हजरालाई पक्राउ गरेको छ । बिहीबार पीडित शिवपुजनका छोरा नानकचन्दले जिल्ला प्रहरी कार्यालयमा लिखित उजुरी पनि दिएका छन् । उजुरीका आधारमा प्रहरीले तीनैजनाविरुद्ध केही सार्वजनिक अपराध तथा सजाय ऐनअन्तर्गत मुद्दा दर्ता गरेको छ । बिहीबार तीनैजनालाई जिल्ला प्रशासन कार्यालय पर्सामा हाजिर गराएर अनुसन्धानका लागि सात दिनको म्याद थप गराइएको पर्साका प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले जानकारी दिए ।
