मृतकमध्ये १२ जना नेपालीको पुष्टि भएको छ भने सातजना घाइते भएका छन् । ‘१२ जना नेपाली सुरक्षागार्डको मृत्यु भएको छ, घाइतेहरू खतरामुक्त हुनुहुन्छ,’ अफगानिस्तानसमेत हेर्ने पाकिस्तानस्थित नेपाली कार्यवाहक राजदूत तीर्थ अर्यालले सोमबार साँझ टेलिफोनमा भने । मृत्यु भएका दुईजना नेपालीजस्तै अनुहार रहे पनि भारतीय नागरिक रहेको अनुमान छ । तर, पुष्टि हुन सकेको छैन । मारिएका र घाइते नेपाली सुरक्षागार्ड काबुलको वाजिर अकबर खान स्ट्रिट नम्बर १५ स्थित क्यानेडियन दूतावासमा कार्यरत थिए ।
शव स्वदेश ल्याउने प्रक्रिया सुरु

अफगानिस्तानको आन्तरिक मामिला मन्त्रालयले बिहानै जारी गरेको विज्ञप्तिमा मृतक सबै १४ जना नेपाली रहेको उल्लेख गरेको थियो । मन्त्रालयले पाँचजना नेपाली र चारजना अफगान नागरिक घाइते भएको बताएको थियो । तर, साँझसम्म सातजना नेपाली घाइते भएको पुष्टि भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले जानकारी दिए । ‘हामी अझै पनि सोधपुछ गरिरहेका छौँ,’ पौड्यालले नयाँ पत्रिकासँग भने ।
काबुलमा नेपाली कार्यवाहक राजदूत पुगेर अफगानी अधिकारीसँग कुराकानी गरेपछि शव स्वदेश ल्याउने प्रक्रिया सुरु हुनेछ । अफगानिस्तानी सरकारले घाइतेको उपचार निस्शुल्क गर्ने व्यवस्था मिलाएको छ ।-नयाँ पत्रिका
