यही रुवाइ र तनावले मान्छेलाई हत्तोत्साही बनाउँछ । लामो समयको तनावले गर्दा संसार नै अँध्यारो देखेपछि कुनैपनि मान्छेलाई जीवन भन्दा पनि मृत्यु प्यारो लाग्न थाल्छ । मान्छेको मनमा जीवन र मृत्युको अन्तरद्वन्द्व चल्छ । र अन्तमा मृत्युले विजय गरेपछि कुनैपनि मानिसले संसारबाट सधैँका लागि विश्राम लिन्छ, यसैलाई भन्ने गरिन्छ आत्महत्या । आत्महत्याका एउटा मात्र कारण नहुने नेपाल प्रहरीका प्रवक्ता माधवप्रसाद जोशीले बताउनुभयो । आत्महत्याका बारेमा नेपालमा गरिबीलाई प्रमुख कारणका रुपमा लिने गरेपनि त्यो मात्र कारण नभएको प्रवक्ता जोशीको भनाई छ ।
‘गरिबीले हो भने इलामका नागरिक भन्दा मुगुका नागरिक गरिब छन् । तर किन मुगुमा आत्महत्या बढी हुँदैन ?’ प्रवक्ता जोशीले प्रश्न गर्नुभयो । प्रवक्ता जोशीका अनुसार धेरै कारणले आत्महत्या हुन्छन् । तर नेपालको सन्दर्भमा घरेलु हिंसा र सामाजिक बहिष्कार कारण मुख्य रहेको उहँको बुझाई छ ।
त्यस्तै मनोपरामर्शदाता अम्बिका बलामी पनि यस्तै बताउनुहुन्छ । ‘आत्महत्या मान्छेको अन्तिम अस्त्र हो । बाँच्ने आधार कँही कतै नदेखेपछि आत्महत्या गर्छन् । यसको धेरै कारण छन्’ बलामीले भन्नुभयो ।
सम्वेदनाले सजिएको जीवनमा आइपर्ने अनेकौँ उतारचढाव, आरोहअवरोह, सुखदुःख आँसुहाँसो सहँदै अनेकौँ हण्डर खाएर जीवनलाई अगाडि बढाउँदै बाच्नु पर्ने कुनैपनि मान्छेको बाध्यता हुन्छ ।
तर जीवनमा आइपर्ने यस्ता अनेकौं समस्या समाधानमा उपयुक्त जीवनसीप र आफूलाई स्वविवेकको माध्यबाट सन्तुलित बनाउन सक्ने उपयुक्त क्षमता एवम् दक्षताको अभावका कारण धनी, गरिब, शिक्षित, अशिक्षित, केटाकेटी, वृद्धवृद्धा, शहरिया, गाउँले, महिला या पुरुष जो सुकै व्यक्ति पनि आत्महत्या गर्छन् । जसलाई हाम्रो समाजमा जघन्य अपराधको रुपमा लिने गरिन्छ ।
बढ्दै आत्महत्याका घटना
समाज जति विकसित हुँदै जान्छ त्यती नै आत्महत्या बढेको देखिन्छ । यो सामान्य अवस्था भएको मनोपरामर्शदाता बलामीले बताउनुभयो । समाजको विकास सँगसँगै मान्छेको सोचाई पनि ठूलो हुने र त्यास्ता ठूला सोचाई तथा सपनाहरु सपनामै सीमित हुन भएकाले आत्महत्याका घटना बढ्ने गरेका छन् ।
अहिले दैनिक १२ जना भन्दा बढीले आत्महत्या गर्ने गरेको प्रहरीको तथ्याङ्कले देखाएको छ । गएको साउनदेखि जेठसम्मको तथ्याङ्लाई हेर्ने हो भने मात्र पनि चार हजार ६९ जनाले आत्महत्या गरेका छन् । यो दर वर्षेनी बढेदै गएको नेपाल प्रहरीका प्रवक्ता माधवप्रसाद जोशीले बताउनुभयो ।
झुण्डिएर आत्महत्या गर्ने धेरै
नेपालमा भएका आत्महत्यामध्ये झण्डै ७५ प्रतिशतले झुण्डिएर आत्महत्या गर्ने गरेका छन् । झुण्डिएर आत्महत्या गर्नका लागि वरपर सहज रुपमा डोरी तथा कपडा पाइने र भरपर्दो देखेकाले मान्छेहरु बढी झुण्डिने गरेको मनोपरामर्शदाता अम्बिका बलामीले बताउनुभयो ।
गएको साउन महिना मात्र तीन सय ७८ वटा आत्महत्याका घटना भएका छन् । जसमा दुई सय ६९ जनाले झुण्डिएर आत्महत्या गरेका थिए ।
तर पश्चिमा मुलुकहरुमा भने विभिन्न विस्फोटक पदार्थहरुद्वारा आत्महत्या गर्ने गरेको पाइन्छ । यसले पनि के पुष्टि गर्छ भने मान्छेले आत्महत्या गर्ने बेलामा जे साधन सहज रुपमा फेला पार्छ त्यसैले आत्महत्या गर्ने गरेको देखाउँछ ।
आत्महत्याका लक्षण
आत्महत्या गर्ने व्यक्तिले कुनै न कुनै प्रकारको लक्षण देखाउने मनोपरामर्शदाता बलामीले बताउनुभयो । तनावमा जेलिएका व्यक्तिले गाँठो फुकाउन नसकेपछि आत्महत्या गर्छन् ।
आत्महत्या गर्नु अघि उनीहरुले केही न केही संकेत दिने गर्छन् । जस्तो कि साथीभाइबाट टाढिनु, भेटिरहेको भन्दा पनि कहिले पनि भेट नभएको साथीसँग भेट्नु र नकारात्मक कुरा गर्नु ।
भोक नलाग्नु, हरेश खानु, कुनै पनि कुरामा चासो नदेखाउनु, नकरात्मक कुरा मात्र सोच्नु, एकोहोरो सोच्नु, असफलताका मात्र कुरा गर्नु जस्ता लक्षण देखिने बलामीले बताउनुभयो ।
