मेगा बैंक लिमिटेडका मुख्य शाखाका प्रवन्धक शम्भुबहादुर थापाले त्यहाँका केही महिला कर्मचारीहरुमाथि यौन हिंसा (सेक्सुअल भ्वाईलेन्स) गरेको भन्दै बैंकमा लिखित उजुरी परेको लामो समय वितिसक्दा पनि अझै पनि आरोपितलाइ कारवाही नहुनुले नेपालमा महिला हिँसा विरुद्ध काम गर्ने संस्थाहरु फगत डलरको खेतीमा लागेको स्पष्ट हुन्छ । न त बैंकले हालसम्म ति कर्मचारीमाथि कुनै कारवाही गरेको छ, न त महिला अधिकारकर्मीहरुले नै यस बिषयमा बोलेका छन् ।
अझ अचम्मलाग्दो कुरा त के भने सक्षम महिला बैंकरको रुपमा चिनिएकी रविना देशराज श्रेष्ठ र बोल्न पाएपछि महिला अधिकारका पक्षमा समेत राम्रै भाषण गर्ने अनिल केशरी शाह प्रमुख कार्यकारी अधिकृत भएको बैंकमा यस्तो घटना हुँदा पनि कोहि पनि बोलेको छैन ।
आरोपितलाइ बचाउन सीइओको यस्तो खेल !
बैंकमा कार्यरत बिभिन्न महिला कर्मचारीहरुमाथि यौनहिंसा गरेको बिषयलाई लिएर करिव डेढ बर्षअघि त्यहाँ कार्यरत महिला कर्मचारीहरुले सम्भुबहादुर थापा विरुद्ध व्यवस्थापनमा उजुरी दिएका थिए । सो उजुरीबारे तत्कालिन समयमा बैंकका कार्यकारी प्रमुख अनिलकेशरी शाह आफैले सिधै सुनुवाई गरेका थिए । तर हालसम्म पनि सम्बन्धित आरोपितलाई कारवाही हुन सकेको छैन ।
तत्कालिन समयमा प्रबन्धक थापाले आफूमाथि परेको उजुरीको जवाफ दिंदै ‘आफुले ति महिला कर्मचारीहरुमाथि यौनहिंसा नगरेको र मेगा बैंकमा यस्तो कुरा सामान्य मानिने गरेको’ स्पष्टिकरण दिएका थिए ।
त्यहाँका कर्मचारीहरुले उजुरी गरेपछि सिईओ शाहले २७ जनवरी २०१५ को मितिमा मेमो उठाएर प्रवन्धक थापालाई बर्खास्त गर्न शिफारिश गरेका थिए । नियमावली अनुसार त्यस्तो काण्डमा सिधै बर्खास्त गर्नसक्ने अधिकार सिईओलाई नै भएपनि अनिल शाहले मेमो उठाएर सिफारिस मात्र गरेका थिए । आफुले सिधै जाँदा थापासँगको सम्बन्ध बिग्रने र संचालक समितिमा गए कारवाही पनि नहुने र गरेजस्तो पनि हुने तरिकाले शाहले मेमो उठाउँदै सिफारिस गरेका थिए । त्यसपछी बसेको सञ्चालक समितिको बैठकमा उनलाई ‘सेक्युअल ह्यारेसमेन्ट’को अभियोगमा दोषी ठहर गर्दै बर्खास्त गर्ने एजेन्डा पेश भएको भए पनि बोर्ड बैठकले केही गरेन ।
बैंकका सीइओ अनील शाहले कारवाही नगर्ने नै नियतका साथ त्यस्तो प्रक्रियामा लागेको मेगाकै कर्मचारीहरु बताउँछन् । नियमअनुसार कुनै कर्मचारीमाथि कारवाही गर्ने/नगर्ने बिषय बोर्डको अधिकारक्षेत्रमै पर्दैन । यो काम प्रमुख कार्यकारी अधिकृतको हो । सिईओले नै कारवाही गर्नसक्ने पूर्ण अधिकार हुँदाहुँदै सिईओ शाहले आफु बच्नको लागि शर्प पनि मर्ने लट्ठी पनि नभाँचिने शैलीमा आफुलाई बचाउन र उक्त मुद्धा तुहाउन बोर्डलाई पन्छाएका थिए ।
सीइओले थापालाई बचाउनुको भित्री कारण यस्तो :
शम्भु थापाले महिला कर्मचारीहरुमाथि यौन हिँसा गरेको भन्दै बैंकमा लिखित उजुरीनै परेपछि उनीमाथि छानवीन समेत भएको थियो । तर, सिईओ शाहले आफ्नो धेरैजसो अनुचित काम र रकम लेनदेनको काम थापामार्फत नै गराउने गरेका कारण थापालाई उनको कमजोरी समेत थाहा भएको र यौन हिँसा गरेकै कारण शाहले बर्खास्त गरे आफुले पनि शाहको कर्तुत खोलिदिने धम्की थापाले दिएपछी यी दुइ बैंकर मिलेर बैंकमा भएको सेक्स काण्डलाइ सल्टाएका थिए ।
अनुचित प्रस्तावसमेत मान्नु परेको कर्मचारीकै गुनासो :
मेगाका कर्मचारीहरुले विशेषगरी माथिल्लो तहका कर्मचारीहरुले तल्लो तहका महिला कर्मचारीहरुलाई यस्तो हिँसा गर्ने गरेको बताउँछन् । अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै त्यहाँका कर्मचारीहरुले आफ्नो नाम नबताउने सर्तमा प्रमोशन लगायतका काम गराईदिने भन्दै बैंकका उपल्लो तहका कर्मचारीहरुले अनुचित प्रस्ताव समेत राख्ने गरेका छन् । अझ कतिपय कर्मचारीले त भविष्यको सवाल हुने र सबै कुरा गोप्य नै हुने आश्वाशनमा यस्तो अनुचित प्रस्तावसमेत मान्ने गरेको खुलासा गरेका छन् ।
राष्ट्र बैंकमा समेत उजुरी, मेगाले दिएको थियो यस्तो स्पष्टिकरण
करिव एक बर्ष अघि यो बिषय राष्ट्र बैंकमा समेत पुगेको थियो । राष्ट्र बैंकले मेगा बैंकमा भएको सेक्सुअल ह्यारेस्समेन्ट काण्डमा किन कारवाही नभएको हो ? भन्दै बैंकलाई स्पष्टिकरण समेत सोधेको थियो । तर, बैंकले भने सो काण्डमा मुछिएका कर्मचारी हाल बैकिङ कसुर काण्डमा निलम्ब्नमा रहेका कारण बर्खास्तीको निर्णय नगरिएको जवाफ राष्ट्र बैंकलाई पठाएको थियो । त्यसपछी नेपाल राष्ट्र बैंकले पनि यो काण्डमा फलोअप गरेको छैन ।