मन्थली नगरपालिका १ कुडहरमा रहेको ससुराली घर पुगेका तेह्रथुमका दिपक शर्माले ससुरालीको दलानको थाममा बाँधिएर आइतबार एकाबिहानै रामधुलाई खाएका हुन । वैशाख ५ गते छोरी अन्माएका ससुरालीबाटै कुटाइ खाइएला भनेर उनले सोचेका पनि थिएनन्, तर भयो त्यस्तै ।
शर्माले नाम्लाले बाँधिएर कुटाई खाएर मात्र पुगेन, प्रहरीको खोरमा पनि जानु पर्यो । ससुराली पक्षबाट नै प्रहरीलाई खबर गरी जिम्मा लगाइदिए । शर्मा अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन् ।
नयाँ ज्वाईं आँगनमा पुग्दा खुसी हुनु पर्ने ससुरालीले किन कुटे त उनलाई रु । रामकाहानी लामै छ । शर्माले काठमाडौंको एक अस्पतालकप् स्टाफ नर्स युवतीसँग विवाहको प्रस्ताव गरे । आफूलाई डाक्टर भन्दै उनले विभिन्न पेशा र ठूलो सम्पत्तिको आश्वासन दिए । सानो तिनो जागिर छोड्न आग्रह गरे । बाबु ठूलो तहमा जागिर खाने र आफू विभिन्न संस्थामा ठूलो ओहोदामा रहेको र देशकै ठुला नेताहरुसँग सम्पर्कमा रहेको वताए ।
युवतिलाई विवाह गर्ने भन्दै परिवारका सदस्यलाई काठमाडौं वोलाएर विभिन्न स्थानमा घुमफिर गराए । पटक पटक काठमाडौं जाँदा अलग अलग स्थानमा राखे र त्यो आफ्नै सम्पत्ति भएको वताए । गाडी अलग अलग नै चढाए । पीएचडी डाक्टर र धेरै सम्पत्ति भएको युवक भेटेपछि युवतिका आफन्तले विवाह गरेर छोरी दिने कुरामा मन्जुरी दिए । तर विवाहको टुंगो गरेपछि युवकले केही बाहाना पनि गरे । आफन्त मरेकाले विवाह सार्नका लागि आग्रह गरे । सवै तयारी भएकाले वाहिरबाट अन्मिएर भए पनि बेहुला भएर आउन केटीपक्षबाट आग्रह गरेपछि युवकले त्यहि विधि अपनाए । वैशाख ५ गतेका लागि विवाहको मिति टुंगो लाग्यो ।
चैतको अन्त्यतिर उनी काभ्रेको पनौतिमा पुगे । केहि साथी बनाए । डेरा खोजे । एकसाता बसेपछि आफ्नो विवाहमा जन्ती जानका लागि स्थानीयलाई आग्रह गरे । पनौतिबाट एउटा जीपमा केहि जन्तीसहित अन्मिएर विवाहमा आएका शर्माले मास्क लगाएका थिए । विवाह मण्डपमा बसुन्जेल कालो चस्मा खोल्दै खोलेनन् । विवाह धुमधामसँग भयो । जन्ती थोरै भएपनि बेहुली पक्षले गाउँले सवै बोलाएर ठूलो भोज गरे ।
बेहुली लिएर गएको जीपका जन्ती कोहि बनेपामा झरे । कोहि विचबाटोमै । बेहुली लिएर केटा पनौतिमा अन्मिएकै घरमा पुगे । बेलुका त्यहि वसे । भोलिपल्ट बिहान वेहुलीका केहि गहना गोजीमा हालेर आफ्नो मोवाइल र अरु सामान छोडेर उनी कोठाबाट वाहिरिए । बेहुली कोठैमा थिइन् । धेरै समय कुर्दा पनि बेहुला नआएपछि बेहुलीले खोजी थालिन् । तर उनी भेटिएनन् । फोन छोडेकोले सम्पर्क हुने कुरा भएन । नयाँ ठाउँमा एक्लै परेकी बेहुलीले हारगुहार गरिन् । स्थानीयले केहि बेर खोजे तर भेटेनन् ।
विवाहको भोलीपल्टै अलपत्र भएपछि उनलाई स्थानीयले युवकको व्यवहारमा शंका व्यक्त गरे । र माइत जान भए सुरक्षित पुर्याइदिन सहयोग गर्ने बताए । युवतिले माइतीमा सवै कुरा वताइन् । माईतिले आउनु भनेपछि गाडी खोजेर स्थानीयको साथ लागेर उनि त्यसैदिन माइती फर्किइन् ।
