सोमबार अपराह्न फोनमार्फत राष्ट्रपति म्याक्रीले सन्यासको निर्णय फिर्ता लिन अनुरोध गर्दै मेस्सीलाई राष्ट्रिय टोलीमा फर्किन आग्रह गरे ।
कोपा अमेरिका फुटबलको फाइनलमा पेनाल्टी गोलमा चुक्दा अर्जेन्टिना चिलीसँग दोस्रो पटक पनि पराजित भएपछि मेस्सीले अर्जेन्टिनी टेलिभिजनमार्फत सन्यासको घोषणा गरेका थिए ।
सन्यासको घोषणा गरेको खबर सुनेपछि राष्ट्रपति म्याक्रीले फोन गरेर निर्णय फिर्ता लिन आफैले अनुरोध गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
राष्ट्रपति म्याक्रीले मेस्सीको प्रदर्शनबाट अर्जेन्टिना र आफू खुसी र सन्तुष्ट रहेको भन्दै अरुको आलोचना नसुन्न पनि सुझाव दिएका थिए ।
यसैबीच अर्जेन्टिनाका पूर्व प्रशिक्षक डिएगो म्यारोडोनाले पनि सन्यासको निर्णय फिर्ता लिएर टीममा फर्किन मेस्सीलाई सुझाव दिएका छन् । उनले उपाधि जित्न अझै केही समय पर्खिनुपर्ने भन्दै मेस्सीले अहिले नै सन्यास लिने समय आइनसकेकोमा जोड दिएका छन् ।
