Manisha-gharti-magar२१ दिन लामो अनुसन्धानपश्चात घटनास्थलमा फेला पारेको प्रमाण र अनुसन्धानका आधारमा आशिषले मनिषाको हत्या गरेकोे निस्कर्षमा प्रहरी पुगेको हो । प्रहरीले आशिषविरुद्ध सोमबार नवलपरासी जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दा दायर गर्न लागेको छ ।
मनिषाको हत्या आशिषले गरेको अनुसन्धाले देखाएकाले कर्तव्य ज्यान मुद्दा दायर गर्न लागिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसन्धान अधिकृत एवं प्रहरी निरीक्षक प्रकाश सापकोटाले अनलाइनखबरलाई बताए ।
‘अनुसन्धान सकेर असार २ गते नै हामीले घटनाको मिसिल सरकारी वकिलको कार्यालय नवलपरासीमा बुझाइसकेका थियौं,’ अनुसन्धान अधिकृत सापकोटाले भने ।
उनले घटनास्थलमा फेला परेको सिसाका टुक्रा, घाँटीमा लागेको पासो (कपडा), मनिषाले लगाएको च्यातिएको भित्रीबस्त्र लगायतका प्रमाण अदालतमा पेश गरिने बताए ।
प्रहरीले मनिषा र आशिषबीच मोबाइलमा भएको कुराकानीको कल रेकर्ड, मोबाइल म्यासेजमार्फत भएको कुराकानी लगायतका विषयमा समेत अनुसन्धान गरेको थियो । घटनाको दिन जेठ १२ गते आशिषले प्रयोग गर्ने मोबाइल नम्बरबाट मनिषाले प्रयोग गर्ने मोबाइल नम्बरमा ८ बजेर ३२ मिनेट २७ सेकेण्डमा अन्तिम कल गरेको देखिएको थियो ।
पोलिग्राफ पनि झुठ !
मनिषाको मृत्युको अनुसन्धानमा प्रहरीले आशिषको पोलिग्राफ परिक्षण समेत गरेको थियो । अभियुक्तले दिएको बयान साँचो हो वा झुठो हो भन्ने पुष्टी गर्नका लागि प्रहरीले पोलिग्राफ टेस्ट लिने गर्दछ ।
उक्त परिक्षणमा आशिषलाई मनिषा घर्तीमगरको मृत्यु तपाईले गराउनु भएको हो ? भन्ने प्रहरीको प्रश्नमा आशिषले ‘होइन’ भन्ने जवाफ दिएका थिए । उक्त जवाफको पोलिग्राफ जाँच गर्दा आशिषको प्रारम्भिक वयानसँग मिलेको थियो । प्रहरीको अनुसन्धान निस्कर्ष पोलिग्राफ परिक्षणको नतिजासँग मेल खाएन ।