विश्व सम्पदा सूचीमा सूचीकृत लिच्छवीकालदेखिको ऐतिहासिक महत्व बोकेको पशुपति गौशालास्थित भण्डारखाल प्रेम जोडीमात्र होइन ट्यापे, गँजडी र अश्लील क्रियाकलापमा रमाउनेहरुको केन्द्र बनेको छ ।
गत वर्षको भूकम्पले पर्खाल भत्किएपछि यस्ता समूहलाई पशुपतिनाथ क्षेत्रमा रमाउन सजिलो भएको छ । भूकम्पअघि पनि संरक्षणको अभावमा बेवारिसे बनेको १३४ रोपनी क्षेत्रमा फैलिएको भण्डारखाल भूकम्पपछि वरिपरिबाट घेरिएको पर्खाल ठाउँठाउँमा भत्किँदा गाँजालगायत लागुपदार्थ सेवन गर्ने युवा प्रेम जोडीका लागि वरदानसावित भएको हो ।
शनिबार र सरकारी बिदाका दिन विद्यार्थी फुटबल, क्रिकेट खेल्न जम्मा हुन्छन् भने भण्डारखाल क्षेत्रमा साँझ परेपछि पर्खाल भत्किएका स्थानबाट जोडी छिर्ने गरेकाले अघोषित ‘रेडलाइट एरिया’ बन्न पुगेको स्थानीय राम डङ्गोल दुःखेसो पोख्छन् ।
पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक रमेशकुमार उप्रेती उपत्यकाका वन क्षेत्र सबै अनैतिक क्रियाकलाप गर्ने ठाउँ बनेकाले पशुपति भण्डारखाल पनि अछुतो रहन नसकेको स्वीकार गर्छन् ।
‘श्री ५ गीर्वाणयुद्ध विक्रम शाहले कालोपुल पूर्व, गौशालाचोकदेखि उत्तर, बाग्मतीको गुह्येश्वरी किनार, गौरीघाट र चाबहिल गणेशस्थानबीचको २६४ हेक्टर जमिनलाई पशुपति क्षेत्रको लालमोहर लगाइदिएको र १३४ रोपनीको जमिनलाई भण्डारखाल बनाइएको हो’ उनले भने ।
दुई वर्षअघि पुरातत्व विभाग र पशुपति क्षेत्र विकास कोषको आयोजनामा भण्डारखाल क्षेत्रको उत्खनन गर्दासमेत यो पुरातात्विक एवम् ऐतिहासिकस्थल अव्यवस्थित देखिएको विभागका महानिर्देशक भेषनारायण दाहालले बताए । ‘भण्डारखाल क्षेत्र पशुपति क्षेत्र विकास कोषको अधीनमा रहेकाले त्यहाँको वातावरण सुधार गर्ने जिम्मेवारी पनि कोषकै हो’, उनले भने ।
कोष मातहतमा रहेको १३४ रोपनी हरियो जङ्गलले ढाकेको यो क्षेत्र संरक्षणको अभावमा दिनानुदिन उजाडिँदै गएको छ ।
कोषले ऐतिहासिक धरोहरको यस क्षेत्रलाई रेखदेख गर्न एक जना सुरक्षाकर्मीसमेत नखटाउँदा भण्डारखाल क्षेत्र जसले जे गरे पनि हुने अवस्थामा पुगेको पशुपतिका स्थानीयवासी महेश्वरलाल श्रेष्ठले गुनासो गरे ।
- See more at: http://www.dainiknepal.com/2016/04/146297.html#sthash.7saJslAm.dpuf
