परासी : नेपाली समाजमा हिंसा भन्नेबित्तिकै महिलामाथि हुने घटनालाई बुझिने गरिन्छ । घरेलु हिंसासम्बन्धी उजुरीमा पुरुषले महिलामाथि गरेको विभेद, कुटपिट र यातना दिएको पाइन्छ । महिलामाथि महिलाले गरेका भेदभाव, कुटपिट र यातना दिएका घटना पनि हाम्रो समाजमा धेरै छन् ।
नवलपरासीमा भने केही समययता अनौठो तथ्य बाहिर आउन थालेको छ । यहाँ पुरुषमाथि भएका हिंसा र यातनाका घटना सार्वजनिक हुन थालेका हुन् ।
महिलाबाट पीडित पुरुषहले घटना सार्वजनिक नगरे पनि उनीहरु न्याय खोज्दै सरकारी कार्यालय र संघ संस्थाहरुमा धाउन थालेका छन् । सकारी निकाय र संघ संस्थामा न्यायका लागि पुग्ने पुरुषहरुले पत्नीले खान लाउन नदिने, काममा जोताउनेदेखि घर निकाला गरेका सम्म छन् ।
पुरुषमाथि हिंसाका घटना बढेपछि जिल्ला अदालतमा पनि त्यस्ता मुद्दा बढेका छन् । अदालतका विगतका तथ्यांकलाई तुलना गर्दा अहिले सम्बन्ध बिच्छेद गर्न मुद्दा दिने पुरुषको संख्या पनि बढेको श्रेस्तेदार कृष्णप्रसाद नेपालले बताए ।
महिला तथा बालबालिका कार्यालयकी प्रमुख महिला विकास अधिकृत उर्वरा लुइँटेलले पछिल्लो समय पुरुष हिंसाका घटना बढेको बताइन् ।
‘टेलिफोन गरेरै आफुहरु पत्नीबाट कुटिनु परेकोले न्याय पाउन भन्दै गुनासो गर्ने गरेका छन्’, उनले भनिन्, ‘मेरा उजुरी सुनिदिनुपर्यो, मलाई न्याय दिनुपर्यो भन्दै पुरुषले गुनासो गरिरहेका छन ।’
लुइँटेलले पछिल्लो पटक तिलपुर गाविसका एक पुरुषले टेलिफोनमा गरेको गुनासोलाई उद्दृत गर्दै भनिन्, ‘पत्नीबाट मैले दिनहुँ कुटाइ खानु परेको छ’, ‘पत्नीविरुद्ध मेरो मेरो उजुरी सुनिदिनुपर्यो, मलाई न्याय दिलाउनु पर्यो ।’
