असार १४, २०७३- सवारी साधानका आधिकारिक बिक्रेताहरुले गाडी भित्र्याउन भैरहवा नाकालाई प्रयोगमा ल्याउन थालेका छन् । बीरगन्जभन्दा सुरक्षित भन्दै उनीहरुले विकल्पका रुपमा भैरहवालाई रोजेका हुन् ।
मधेस आन्दोलनका बेला धेरै दिनसम्म बीरगञ्ज नाका अवरुद्ध भएपछि नेपाल भित्रिने गरेको सवारी साधनको आयात भैरहवा नाकाबाट हुन थालेपछि भैरहवा नाका सुरक्षित मानेर प्रयोगमा ल्याउन थालिएको थियो ।
बीरगञ्ज नाका सहज भैसकेपछिपनि आयातकर्ताले भैरहवा नाका सुरक्षित ठान्दै भैरहवा नाकालाई बैकल्पिक नाकाको रुपमा निरन्तरता दिन थालेका छन् ।
सवारीका साधन भैरहवा नाकाबाट भित्रिन थालेपछि भैरहवा भन्सारले एक बर्षमा संकलन गर्नु पर्ने राजश्व साढे चार महिना आगाडि नै पुरा गरिसकेको थियो ।
भैरहवा भन्सार कार्यालयका निमित्तक प्रमुख गणेश अर्यालले मधेस आन्दोलनका बेला भैरहवा नाका सवै भन्दा सुरक्षित हुनुले आयातको क्रम बढ्न थालेको र सवै भन्दा धेरै सवारीका साधन आयात हुने गरेको बताउनु भयो ।
अर्यालका अनुसार, भैरहवा भन्सारले संकलन गर्ने गरेको कुल भन्सार राजश्वमध्ये ४८ प्रतिशत योगदान नयाँ सवारी साधनको आयातबाट छ ।
