तराई–मधेसका पूर्वाधार र आवश्यकता स्थानीयहरूसँगै छलफल गरेर टुंग्याउने उद्देश्यका साथ केही महिनाअघि जनकपुर पुगेको राष्ट्रिय योजना आयोगको टोली त्यतिखेर अवाक बन्यो, जब एक स्थानीय महिलाले माथिको प्रश्न तेस्र्याइन् । तराईका अधिकांश सहरको पूर्वाधारको अवस्था हेर्ने हो भने ती महिलाको गुनासो सही नै लाग्छ । पूर्वाधार, सरसफाइ र सार्वजनिक सेवा कुनै पनि पक्षले सहरको झल्को दिँदैन । र, मुलुकको समथर भूभागका सीमावर्ती जिल्लाका सदरमुकामहरूको अवस्था पनि यसभन्दा धेरै भिन्न छैन ।
दक्षिणी सीमानजिक रहेका जिल्ला सदरमुकामहरूको यस्तो हविगतका कारण एकातिर ती जिल्लाका बासिन्दा आधुनिक सेवा र सुविधाबाट वञ्चित हुनुका साथै आर्थिक गतिविधि पर्याप्त नहुँदा बेरोजगारीको समस्यासमेत भोग्न बाध्य छन् । देशकै करिब ५१ प्रतिशत जनसंख्या सीमावर्ती जिल्लाहरूमा बस्छ । यति सघन जनसंख्या भएका जिल्ला र तिनका सदरमुकामहरूको कमजोर पूर्वाधारका कारण पनि राज्यको एउटा ठूलो तप्काले आफूलाई बहिष्कृत महसुस गर्दै आएको छ भने त्यस्तो सोच र भावनाले मुलुकको समग्र सुरक्षाका लागि पनि चुनौती बढाउने विज्ञहरू बताउँछन् ।
तराई–मधेसको यही संवेदनशीलता र महत्त्वलाई ध्यानमा राखी सरकारले सीमावर्ती १८ जिल्ला सदरमुकामलाई लक्षित गरी सघन सहरी विकास कार्यक्रम ल्याएको छ । अर्थ मन्त्रालयका प्रमुख आर्थिक सल्लाहकार गोविन्द नेपाल भन्छन्, “कार्यक्रमको मूल लक्ष्य आधार भूत पूर्वाधारसहितको पूर्ण सहर निर्माण गरी त्यहाँका बासिन्दालाई वास्तवमै सुविधासम्पन्न सहरको बासिन्दा भएको अनुभूत गराउनु हो ।”
