२७ बर्षीया युवतीले तुरुन्तै जवाफ दिइन् । जब उनले जवाफ दिन थालिन् उनका आँखाबाट आँशुका ढिक्का खस्न थाले । अदालतभरी उनको सुँक्क सुँक्क आवाजमात्रै सुनियो । टाउको छोपेको सलले उनले आँखा र मुख छोप्न थालिन् । तर, पीडालाई लुकाउन सकिनन् । उनको रुवाईको आवाज झन् बढ्यो । उनको रुवाईले अदालत स्तब्ध भयो । केहीबेरका लागि अदालती सुनुवाई पनि प्रभावित भयो । न्यायाधीशदेखि अन्य उपस्थित ब्यक्तिहरु स्तब्ध थिए । निकैबेर अदालतमा उनको सुक्क सुक्क मात्रै सुनियो । बाँकी अदालत मौन रह्यो । मौनता चिर्दै फेरि खरेल बोले, ‘बहिनी डराउनु पर्दैन । तिम्रो साथमा हामी छौं । साँचो कुरा बताइदेऊ ।’
उनले आँशु पुछिन् । ‘दिनभरिको कामले थाकेर चल्न पनि नसक्ने भएर म सुतिरहेको थिएँ,’ बल्ल उनको ओठ चल्यो, ‘केही गहुँगो बस्तु आएर थिचेजस्तो लाग्यो ।’ त्यो गहु्रङगो वस्तु उनले काम गर्ने घरको मालिक्निको छोरा थियो । ‘म चिच्याउन खोजें, उसले मेरो घाँटी थिच्यो,’ यति भनेर उनी फेरि रोइन् । उसले उनलाई कराए मारिदिने धम्की दियो । ‘म ऊसामु आत्मसमपर्ण गर्न बाध्य भएँ,’ उनले भनिन् । खरेलले उनको बयानलाई जस्ताको तस्तै अरबीमा न्यायाधीश सामु बताइदिए । उनलाई पटकपटक ज्यान मार्ने धम्की दिएर बलत्कार गरिएको थियो । दुई तले घरको छतमा उनको कोठा थियो । कोठामा चुकुल थिएन । मालिक्नीका अरु पनि छोरा थिए । केही पहिले अर्को छोराले पनि उनको कोठामा छिर्ने प्रयास गरेको थियो । त्यतिबेला मालिक्नीले थाहा पाएर छोरालाई गाली गर्दै लगेकी थिइन् ।
