वैज्ञानिकहरुले यस्तो छेपारो फेला पारेका छन् जुन सूर्यको प्रकाशमा लिंग परिवर्तन गर्दछ ।
अस्ट्रेलियन सेन्ट्रल बर्डेड जातको उक्त छेपारो भाले वा पोथी हुने कुरा घाममा निर्भर हुने तथ्य वैज्ञानिकहरुले पत्ता लगाएका हुन् ।
फुलबाट बच्चा कोरल्नु अघि घामको मात्रा हेरिकन त्यो बच्चा भाले वा पोथी बन्ने कुरा निधो हुने रहेछ । छेपारोको वासस्थानको रुपमा रहेको मरुभूमि जति धेरै तातो भयो वा घाम तिव्र भयो भने फुलबाट पोथी छेपारो जन्मिने अनुपात बढि हुने देखिएको वैज्ञानिकहरुले बताएका छन् ।
नेचर जर्नलमा छापिएको समाचार अनुसार सरिसृपहरुमा पहिलोपटक सूर्यको प्रकाशले लिंग निर्धारण गर्ने गरेको तथ्य फेला परेको हो ।
छेपारोका बच्चाको लिंग घामको मात्राको आधारमा निर्धारण हुने यो घटनाले पृथ्वीमा बढ्दै गएको जलवायु परिवर्तनमा प्राणीहरु कसरी अनुकुलित होलान् ? भन्ने चासोमा झनै चिन्ता थपेको क्यानबेरा विश्वविद्यालयका शोधकर्ता क्लारी होलेलीले बताइन् ।
पहिलोपटक छेपारोमा यस्तो घटना देखिएको भएपनि जलवायु परिवर्तनका कारण अन्य प्राणीहरुमा पनि यस्तो परिवर्तन आइसकेको हुनसक्ने शोधकर्ताहरुको अनुमान छ ।
अझ रोचक कुरा त के भने यसरी घामका कारण पोथी भएर जन्मिएका छेपाराहरुमा सेक्स क्रोमोजोम हुँदैन र ती बच्चाहरुको लिंग क्रोमोजोमको मिलन भन्दा पनि पूर्णरुपमा अण्डा कोरल्दाको तापक्रममै निर्भर हुने गरेको छ ।
यसरी जन्मिएका पोथी छेपाराहरुले सामान्य मैथुनिक पद्धतिबाछ जन्मिएका छेपाराले भन्दा दोब्बर बढि अण्डा पार्ने गरेको समेत पाइएको छ । त्यसैले विश्वमा जलवायु परिवर्तका कारण तापमानमा वृद्धि हुँदै जाँदा यो प्रजातिको छेपाराको पोथीको संख्या पनि निकै बढ्ने देखिएकेा छ ।