यस्तै दुई जना महिलालाई कल्पना लिम्बू, जीतबहादुर दर्जीलगायतको टोलीले यौन शोषण गर्ने तथा बन्धक बनाउने उद्देश्यले नयाँदिल्ली हुँदै साउदी दूतावास पुर्यायो । उनीहरुको यौनको माग साउदीमा नभइकन भारतमा नै भएको भनी दलालीमार्फत फेरि नयाँदिल्ली नै फर्काइयो ।
पीडित महिलाले आफूलाई दिल्लीमा बन्धक बनाएर राखेको खबर आफन्तलाई पठाएपछि आफन्तले तुरुन्त केन्द्रीय अनुसन्धान ब्युरोमा निवेदन दियो सोही निवेदनका आधारमा पीडित महिलालाई भारतीय प्रहरीको सहयोगमा उद्धार गरियो ।
यी केवल समाजमा हुने केही उदाहरणीय घटनामात्र हुन् । काठमाडौँ उपत्यकालगायत देशभर यस्ता घटना दिनहुँ थुप्रै घटिरहेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो महाराजगन्जले हाल यस्ता घटनाको अनुसन्धानका लागि सक्रियता बढाएको छ ।
आव २०७२-७३ मा ब्युरोले १०१ घटनाको सफल अनुसन्धान गरेको छ । ब्युरोका लागि गत आव नक्कली डाक्टर प्रकरण महत्वपूर्ण बन्यो ।
केही महिनाअघि मेडिकल क्षेत्रमा एउटा परीक्षार्थीले अर्काको नाममा परीक्षा दिएको फेला पारेपछि नक्कली डाक्टरको अनुसन्धान सुरु गरियो । ब्युरोका प्रमुख एवम् प्रहरी नायब महानिरीक्षक नवराज सिलवाल नक्कली परीक्षार्थी फेला परेपछि नक्कली डाक्टर पनि अवश्य हुन सक्छन् भन्ने विश्वासका आधारमा अनुसन्धान गर्दा ५४ जना नक्कली डाक्टर फेला परेको बताउनुहुन्छ ।
उहाँले नेपालमा भन्दा पनि भारतका विभिन्न मेडिकल कलेज पढेर आएका डाक्टर बढी नक्कली हुने गरेको बताउनुभयो । उहाँले भन्नुभयो – “मेडिकल काउन्सिल, केन्द्रीय अनुसन्धान ब्युरो र मेडिकल परीक्षा बोर्डको संयुक्त टोलीले विहार विश्वविद्यालयको बोर्डमा गएर अनुसन्धान गरेपछि नक्कली प्रमाणपत्र फेला पारेका हौँ ।”
