मंगलबार बिहान ३ बजे पहिरो आउँदा मल्लको आठ जनाको परिवार मस्त निद्रामा थियो । भल–पहिरोले घर बगाएपछि पाँच जना च्यापिए । दुई छोरा र एक छोरी सकुशल निस्किए । १४ वर्षीय जेठो छोरा वसन्त छिमेकीको घरमा सुत्न गएकाले बाँचे । १३ वर्षीय धनबहादुरले भाइलाई बचाए । ‘दाइ छिमेकीको घरमा थियो,’ धनबहादुरले रुँदै भने, ‘भाइ र एउटी बहिनीलाई बल्लबल्ल बचाएँ । बुवाआमा र तीन बहिनीलाई निकाल्दा सास गइसकेको थियो ।’
धनबहादुर सानो भाइसँग खाटमा थिए । बुबाआमा र बहिनीहरू भुइँमा सुतेका थिए । बुबाले गुहार मागेपछि उनी पनि उठे । तर, घर बगिसकेको थियो । फुपू चन्द्रकला र छिमेकीहरू आएर पाँच जनाको शव निकालेको उनले बताए ।
सुरुमा पहिरो मोटरबाटोमा खसेको थियो । त्यहाँबाट माटोढुंगा सहितको भल–पहिरोले घरको गारो फुटायो । गारोतिर भुइँमा सुतेका दुर्गा, पत्नी र छोरीहरूको त्यहीं च्यापिएर मृत्यु भएको स्थानीय गोवद्र्धन थापाले बताए ।
पूजा–३ वाग्लीवाङमा पनि पहिरोले घर भत्किँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । ६५ वर्षीया होमबहादुर सुनार, उनकी पत्नी ६० वर्षीया सत्यदेवी र ६ वर्षीया नातिनी सीमाको ज्यान गएको प्रहरीले जनाएको छ । पहिरोले घर बगाएपछि तीनै जनाको घटनास्थलमा मृत्यु भएको हो । पहिरोमा परी ४५ वर्षीय भीमबहादुर सुनार, उनकी श्रीमती ३५ वर्षीया मीना र १२ वर्षीया छोरा रामबहादुर घाइते भएका छन् । दुई घर पूर्ण रूपमा भत्किएका छन् भने अरू ३५ घर उच्च जोखिममा रहेको वडा नागरिक मञ्च संयोजक रामबहादुर सुनारले बताए ।
