Xby TurboMac
भारतसँग २५ अर्ब रुपैयाँको अनुदान सहयोग सम्झौता भइसकेको र ७५ अर्ब रुपैयाँ बराबरको सहुलियत ऋण उपलब्ध गराउने सम्झौता अन्तिम चरणमा पुगेको प्राधिकरणका सिइओ सुशील ज्ञवालीले बताए ।
नेपालमा बिनाशकारी भूकम्पलगत्तै राहत र उद्धारमा चीनभन्दा अगाडि देखिन चाहेको भारत अनुदानमा भने चीनभन्दा पछाडि छ । त्यस्तै जापानसँग २६ अर्ब रुपैया ऋण तथा अनुदान सम्झौता सम्पन्न भइसकेको छ ।
पुनर्निर्माणको काम अघि बढ्न थालेपछि दाताहरुले आफ्नो बचनबद्धता अनुरुप अनुदान सम्झौता गर्न प्राधिकरणसँग सम्पर्क गरिरहेका छन् । ‘केही बिद्वानहरुले दाता फिर्ता जान लागे भनेर शतप्रतिशत हावादारी गफ गर्न थाल्नुभएछ,’ ज्ञवालीले भने, ‘दातासँग धमाधम सम्झौता भएर काम अघि बढेको छ, प्राधिकरणको कामबाट उनीहरु उत्साहित छन् ।’
गत वर्ष भएको दाताहरुको अन्तर्राष्ट्रिय सम्मेलनमा करीब ६ खर्ब बराबर अनुदान सहयोग घोषणा भएको थियो । पुनर्निर्माण प्राधिकरण गठन भएर काम अघि बढेपछि दाताहरुले कबोल गरेअनुसार उनीहरुसँग अनुदान तथा ऋण सम्झौताको क्रम अघि बढेको छ ।
युरोपेली युनियनसँग हालसम्म १२ अर्बको सम्झौता भइसकेको र संयुक्त अधिराज्य बेलायतसँग करीब ८ अर्बको अनुदान सम्झौता सम्पन्न हुने प्रक्रियामा रहेको प्राधिकरण स्रोतले जनाएको छ । स्रोतका अनुसार पहिले ठूलो रकम कबोल गरेका दाताहरुसँग सम्झौता सकेर अन्यसँग गरिनेछ ।
अमेरिकासँग यसअघि नै १३ अर्ब रुपैयाँको अनुदान सम्झौता सम्पन्न भइसकेको छ भने प्राधिकरण गठन हुनुअघि कतिपय दातासँग सम्झौता भइसकेको थियो । हालैमात्र जर्मनीसँग ३ अर्ब ४ करोड र एशियाली विकास बैंकसँग १ अर्ब ५० करोड अनुदान सम्झौता भएको छ ।
